FAQs Complain Problems

सिस्ने गाउँपालिकामा सफ्टवेयर मार्फत राजश्व संकलन सुरु

 

मदन विसी सिस्ने गाउँपालिका

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाली मार्फत राजश्व संकलन सुरु गरेको छ । राजश्व प्रणालीमा एकरुपता ल्याइ राजश्व संकलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफटवेयर मार्फत राजश्व संकलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताउनुभयो ।

 

सफ्टवेयरबाट राजश्व संकलन गर्न सिस्ने गाउँपालिका भित्रका ८ वटै वडाका वडा सचिव र एम.आइ.एस फिल्ड सहायक र कम्प्युटर अपरेटरलाई एक दिने तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र सफ्टेक इन्फोसिस प्राली काठमाडौको प्राविधिक सहयोगमा वडा सचिव र अन्य कर्मचारीलाई तालिम प्रदान गरिएको दाहालले बताउनुभयो ।

 

तालिमको सहजिकरण इन्फोसिस प्रालिका प्राविधिक प्रशिक्षक विशाल भट्टराईले गर्नुभएको थियो । गाउँपालिकामा पौष १ गतेदेखि यो प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको गाउँपालिकाका राजश्व शाखा प्रमुख नवराज रावलले बताउनुभयो ।

यसअघि हस्तलिखित रसिदको प्रयोग गरि राजश्व संकलन गर्दै आएकोमा विद्युतिय प्रणालीले राजश्व संकलनमा सहजता आउने रावलले विश्वास व्यक्त गर्नुभएको छ ।

 

गाउँपालिकामा १ गते देखि सुरु गरे पनि वडा कार्यालयमा पौष १५ भित्र सफ्टवेयरको माध्यमबाट राजश्व संकलन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ । अब गाउँ तथा वडापालिकाले संकलन गर्दै आएका विभिन्न सेवा शुल्क, व्यवसाय दर्ता शुल्क र मालपोत कर लगायत अन्य सवै राजश्व विद्युतिय माध्यमबाट संकलन हुने छन ।

 

कहिलेकाँहि विद्युत र इन्टरनेट नहुँदा केहि समस्या भएपनि यो प्रणालीले सेवा दिने र लिने दुवैलाई सहज हुने छ । यसअघि हस्तलिखित रसिदको माध्यमबाट राजश्व संकलन गर्दा बेरुजु आउने गरेकोमा त्यो समस्या अव समाधान हुने अपेक्षा गरिएको छ ।

 

सफ्टवेयर मार्फत राजश्व संकलन गर्ने कार्यले यस आर्थिक वर्षमा गाउँपालिकाले लिएको लक्ष्य पुरा हुने प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ । सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा एक करोड १० लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष: